म हल्का झकाउँदै थिए अचानक गीत बज्यो, "म बिना कसै-कसैलाई मुस्किल छ पोखरामा, म छु आज धेरै टाढा..ढा... मेरो दिल छ पोखरामा" यो गीतले मनलाई बिउझायो तर आँखा निदाइराखेको थियो । गीत सँगै हामी अघि बढ्यौ । मन चन्चल थियो नयाँ परिवेशमा घुलमिल हुँंदा ।
म बसको गति सँगै बाहिर हेर्दै प्राकृतिक सौन्दर्यतामा रमाउँदै थिए । हाम्रो बसको रफ्तारलाई भेट्टाउन अर्को डिल्क्स बस पछाडीबाट आउँदै थियो । दाउन्नेको उकालोको जिर्ण बाटोमा अचानक मेरो झोला खस्यो । मैले मेरो झोला राख्दै गर्दा अर्को बसले ओभरटेक गर्यो । देखे मलाई कसैले हेर्दै थियो । सेतो क्याजुअल टाइपको कपडा अनि जिन्स पाइन्ट रातो कपाल भएकी र गीत सुन्दै बस्ने एक अन्जान मान्छे । फरक बस भए पनि हाम्रो आँखा जुध्यो । यति सम्मले खासै असर गरेन । आँखा जुध्दै गर्दा जुन मुस्कान साटासाट भयो त्यसले मनमा भने प्रेमको तरङ्ग पदा भयो । कहिले म अगाडि हुन्थें त कहिले उ ।
बर्दघाट कट्दा सम्म ३-४ पटक आँखा जुध्यो । नजर त्यही अन्जान मान्छे भएतिर गयो । मन आफै सपना बुन्न थाल्यो । म उसलाई सम्झिन थाले । साथीहरुलाइ भने मलाई कसैले हेर्दै छ अनि म सहित मेरो दिल चोर्ने प्रयास गर्दै छ । साथीहरु पनि छक्क परे उसलाई देखेर । दुई फरक बसमा छोटो समयमा हामीमा प्रेमको माहोल सिर्जना भयो । उसको मनमा चाहिँ के भयो तर मेरो मनमा चाँहि उसको हेराइ र हाँसोले मुटु उथलपुथल भयो ।बर्दघाटमा त्यो बसले त हामीलाई उछिनेर गयो । फेरि आँखा जुध्यो, मुस्कान साटियो अनि बिदा भइयो । अब हाम्रो भेट नहुने निश्चित जस्तै थियो । मैले यो पटक उसलाई हेरिरहें । उ चढेको गाडी हेरेँ । ना ५ ख २८३३ नम्बरको बुटवल देखि पोखरा सम्म पुग्ने बस । मैले बस नम्बर याद गरे र उसलाई बिदा गरे । हामी धेरै पछि पर्यौ । मेरो प्रेमको पालुवा पलाउन अघि नै ओइलायो ।
नारायणी जस्तै मेरो मन भने निरन्तर बगिरहयो । म पनि बग्दै गएँ । म बग्दै गर्दा फेरि ब्रेक लाग्यो, नारायणीको पुलमा । हामी परासी बाट चितवन प्रवेश गर्दै थियौं । मन बगिरहेको नारायणीमा थियो फेरि कोहि हाम्रै बसमा चढ्न आइपुग्यो । एक जना अधबैंसे महिला ४५-४६ बर्षको जस्तो देखिने अनि उसको साथमा एक सुन्दरी त्यस्तै २०-२१ जस्तै लाग्ने ।
नारायणीले मन बगायो मात्र तर उसले मनमा पहिरो नै चलाइदिइ । लुकेर उसलाई हेरे, सुन्तला रङ्गको कपडामा जिन्स पाइन्ट घाँटीमा सुनको सिक्री अनि हेरिरहु लाग्ने उसको हाँसो । साँच्चिकै पागल बनाइदिइ उसले । उसलाई एकपटक हेरेपछि फेरि फेरि हेरिरहुँ लाग्यो । बैमानी मन जो देख्यो उसैलाई एकोहोरो भएपनि प्रेम गरिहाल्ने । हामीले उसको आमा सँग सोध्यौ कहाँ जाने हो ???खैरेनीटार झर्ने हो हामी । यो शब्दले मलाई चिट्ठा पर्यो भगवानलाई धन्यवाद दिए अनि उसलाई हेरें । किनकी म दमौली झर्नुपर्ने उ चाहिँ खैरेनीटार । दमौली सम्म पुगुन्जेल उसलाई मन-मनै भए पनि भरपुर प्रेम गर्छु ।नारायणगढमा १ किलो चक्लेट स्याउ किन्यौ अनि उसको आमालाई पनि किन्न लगायौ । किनकी मलाई एक्लै खान मन नै थिएन । मैले उसलाई हेर्दै स्याउ खान थाले उ पनि खाँदै थिइ । घरी-घरी मलाई हेर्थी । म चाहिँ उसको हेराइलाइ खेर नफाली प्रेम गर्थें ।
म उसको ध्यान आफुतिर तान्न चाहान्थें सायद उ पनि तानिन चाहान्थी । त्यसैले म साथीहरु सँग जिस्किन्थे कराउथें । उ हामीलाई हेर्थी र हाँस्थि । म यो अमुल्य समयको सदुपयोग गर्थे । म उसको हाँसो मा फिदा हुन्थें । हामी हल्ला गरिरहन्थ्यौ, उ हेरि रहन्थी हाँसी रहन्थी । म उसलाई हेर्थे म उ भन्दा धेरै हाँस्थे । बस जुगेडीमा खाना खान रोक्यो । मेरो आँखा ना ५ ख २८३३ बस नम्बरमा ठोकियो । म झरे र उसलाई खोज्न थाले जो सँग पहिलो पटक आँखा जुधेको थियो । म कायर भएर निस्किए वा मलाई उसले आकर्षण गर्न सकिन । यो बेलामा बसमा जस्तो न आँखा जुध्यो न मुस्कान नै साटियो । पहिलो प्रेमिका सँगको छोटो प्रेमको समापन गरे मैले ।
प्रेम सधै पहिलो नै हुन्छ, फेरिने त बस प्रेमी-प्रेमिका मात्र हो । त्यसैले आफनै बसमा हुने अन्जान मान्छे सँग प्रेम गर्न आतुर भए । खाना खाएपछि बस आफ्नो गन्तब्यको लागि हिड्यो । बस माथी मुग्लिन तिर जाँदै थियो मेरो मन भने नारायणी जस्तै उसको गहिराईमा डुब्दै तल-तल गहिराईमा जाँदै थियो । म अगाडिको सिट्मा आड लगाएर उसलाइ हेरि रहन्थें । उ हासी रहन्थी । कुनै बेला डर लाग्थ्यो अनि अन्यत्र हेर्थें । डराउदै भए पनि हेरिरहन्थें । हेर्दा-हेर्दै उ निदाइ, मलाइ सहज भयो । हावाले उसको कपाल उडाउदा, यता मेरो मन उडाएको थियो । लाग्थ्यो उ ननिदाइ आँखा चिम्लिरहेकी छ मलाई हेर्न सहज होस भनेर । उ निदाएकी होस वा आँखा चिम्लेकी नै किन नहोस मलाई मौका मिलि हाल्यो अनि उसको फोटो खिचें ।
मनमा त कैद गरिसकेको थिएँ यो पटक तस्बिर मोबाइलमा कैद गर्ने सफल भए । लाग्यो बिश्वयुद्ध जितेर फर्केको बहादुर योद्धा हुँ । छाती फुल्यो, मन खुशीले गदगद भयो । मन मनै गरेको प्रेमले मनको मझेरी भरिन थाल्यो । मुग्लिनको पुल कटेपछि मलाई पिर पर्न थाल्यो । ड्राइभर सँग रिस उठ्यो चाँडै लगिदिएको मा । म उसलाई हेर्दै बसिरहन चाहान्थें ।तर,आफुले सोचेको जस्तो कहाँ हुन्छ र । देखेको कहाँ कसले पो पाउँछ र, यहि भन्दै मन बुझाए । दमौलीमा बस रोक्यो । साथीहरु सँग बिदा लिदै झरें लाग्थ्यो उसले पनि मन मनै नरमाइलो मान्दै बिदाईको हात हल्लाउँदै छ । म झर्दै गर्दा उसलाई मनभरी अघाउन्जेल हेरें । मन कहाँ मान्थ्यो र झरे पछि फेरि पनि झ्याल बाट हेरें । उ पनि नरमाइलो मान्दै हेर्दै थिइ ।
अन्ततः हामी छुटियौं, अन्त्यमा मुखबाट शब्द निस्कियो:- "अधुरो प्रेम"
===============
© नारायण पौडेल (Np)
ब्यास-०४ दमौली, तनहुँ ।